राजनीति

सिर्जना सिंहलाई काठमाडौंको मेयर उम्मेदवार बनाउने कांग्रेसमा सहमति

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो। विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ। औपचारिक निर्णय भने भोलि विहान ११ बजेपछि हुन्छ। काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

काँग्रेसले शनिबार विहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिबाट महानगरपालिका मेयर र उप-मेयरका उम्मेदवार चयन गर्ने छ। ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यत: तीन जनाको नाममा छलफल भइरहेको उनको भनाइ छ।

को हुन् सिर्जना सिंह?
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएकी थिइन्। प्रकाशमानकी पत्नी मात्र नभइ उनको राजनीतिक पृष्ठभूमि भने लामो छ। उनले ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन्। ०३६ सालमा काँग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन्।

०३६ सालदेखि ३८ सालसम्म उनी नेविसंघको क्याम्पस इकाई सभापति पनि भएकी थिइन्। त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा हराएकी थिइन्। ०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि उनी राजनीतिबाट निष्क्रिय जस्तै हुन पुगिन्। यद्यपि ०५९ मा काँग्रेस विभाजन भइ बनेको शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उनको सक्रियता देखिएको थियो। पति प्रकाशमान जेलमा भएका बेला काँग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन्।

त्यसपछि भने काँग्रेस राजनीतिमा उनको सक्रियता थिएन। तर काँग्रेसको १४ औं महाधिवेशनबाट सिर्जना पुनः सक्रिय राजनीतिमा देखिएकी हुन्। १४ औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेकी थिइन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।