समाज

कुलमान घिसिङलाई नाष्ट प्रविधि पुरस्कार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरिएको छ ।

विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याएबापत घिसिङलाई यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको नास्टले जानकारी दिएको छ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरेका थिए । नास्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मूल्यांकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो ।

आर्थिक वर्ष २०७२/७३ मा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण वित्तीय र प्रशासनिक सुधार तथा पुनर्सरचनामार्फत त्यसपछिका आवहरू २०७३/७४ मा १ अर्ब ५० करोड, २०७४/७५ मा २ अर्ब ९० करोड र २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।