खेलकुद

साग महिला भलिबल : श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक जित्ने पक्का भएको छ । नयाँ इतिहास बनाउने क्रममा नेपालले श्रीलंकालाई ३ – ० को सोझो सेटमा हरायो ।

नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । यसअघि कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न नसकेको नेपालले यो संस्करणमा स्वर्ण वा रजत जित्ने पक्का भएको छ ।

त्रिपुरेश्वर स्थित कर्भडहलमा नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ काे सेटमा जित निकाल्याे । नेपालले पहिलो सेट २५–१४ को सेटमा जित्यो । सुरुवातमा केही तालमेल नमिलेको नेपालले विस्तारै आफ्नो लयलाई समात्यो । एक समय १३–८ ले अगाडि रहेको नेपालले आफ्नो अग्रतालाई कायमै राख्दै २४–१४ मा पुर्‍याएको थियो । त्यसपछि अरु एक अंक थप्दै नेपालले पहिलो सेट २५–१४ ले जित्यो ।

दोस्रो सेटमा पनि सुरुवातदेखि नै अग्रता बनाएको नेपालले श्रीलंकालाई १८ अंक भन्दा अगाडि जान दिएन । निकै उत्कृष्ट खेल खेलेको नेपाली महिला टिमले दोस्रो सेट २५–१८ ले जित्यो ।

नेपालभन्दा केही कमजोर दखिएको श्रीलंकाले तेस्रो सेटमा भने केही सुधारिएको प्रर्दशन गर्‍याे । उसले तेस्रो सेटमा एक समय ११–११ को बराबरी गरेको थियो । त्यसपछि पनि सेटमा तीव्र प्रतिस्पर्धा भएको थियो । तर नेपालले आफनो लयलाई कायम राख्दै खेल २१–१७ मा पुर्‍यायाे । अन्ततः नेपालले सेट २५–२१ ले जित्यो ।

अब नेपालले उपाधिको लागि मंगलबार भारतको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।