सुचना प्रविधि

क्यान काभ्रेमा चुनावी सरगर्मी

काभ्रे,

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान (काभ्रे) मा चुनावी सरगर्मी बढेको छ। भोली शनिबार हुने चुनावका लागि उम्मेदवारी दर्ताको काम सम्पन्न भइसकेको छ । शुक्रबार १२ बजे हिजो दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाश गर्ने कार्यक्रम रहेको छ। बिहीबारदेखि चुनावी कार्यक्रम सुरु भएको थियो। जसअन्तर्गत बिहीबार उम्मेदवारी दर्ता सकिएको क्यान काभ्रेले जनाएको छ। क्यानको ९ सदस्यीय कार्यसमिति पदका लागि १४ जनाको उम्मेदवारी परेको छ। कार्यसमितिमा संस्थागत आजिवन सदस्यबाट १ जना, व्यक्तिगत आजिवन सदस्यबाट १ जना, विषयगत सदस्यबाट १ जना, संस्थागत सदस्यबाट ३ जना र व्यक्तिगत साधारण सदस्यबाट ३ जनाको प्रतिनिधित्व हुनेछ।

जसमध्ये ३ जना निर्विरोध निर्वाचित भइसकेका छन्। संस्थागत आजिवन सदस्यबाट आदर्श कम्प्युटर टेक्नोसिसका निरञ्जन मानन्धरबाहेक अन्य कसैको पनि उम्मेदवारी परेन। यस्तै व्यक्तिगत आजिवन सदस्यबाट राजकुमार आचार्य तथा विषयगत सदस्यबाट सूचना प्रविधि विकास समाजका प्रल्हाद सत्यालबाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै संस्थागत सदस्यबाट ३ सदस्यका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेमा पल इन्टरनेशनलका बलराम श्रेष्ठ, एडभान्स कम्प्युटरका जयराम हुमागाईं, एन्टिक कम्प्युटरका दीपक बस्नेत तथा इनोभेटिभ कम्प्युटर पनौतीकी निशा थापाको उम्मेदवारी परेको छ।

व्यक्तिगत साधारण सदस्यबाट ३ जनाका लागि ७ जनाको उम्मेदवारी परेको क्यान काभ्रेले जनाएको छ। व्यक्तिगत तर्फबाट अनिस ब्लोन लामा, श्याम सेवाचार्य, नरेश मानन्धर, कौशलराज खड्का, निरञ्जन अधिकारी र नवराज भुर्तेलको उम्मेदवारी परेको छ।

अध्यक्षमा को ?

निरञ्जन मानन्धर
क्यान काभ्रेको विधानअनुसार समूहगत निर्वाचनबाट कार्यसमितिमा सहभागी हुने व्यक्तिहरु निर्वाचित हुन्छन्। त्यसपछि कार्यसमिति भित्रैबाट पदाधिकारीहरु टुंगो लगाइन्छ। क्यानको विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा ४ जना सदस्य रहने व्यवस्था छ। भोली हुने निर्वाचनपछि यी सबै टुंगो लाग्ने बताइए पनि पदाधिकारीहरुमा भने सहमति भइसकेको बताइएको छ। स्रोतका अनुसार यसपटक निरञ्जन मानन्धरलाई क्यानको अध्यक्ष बनाउने सहमति भएको छ।

बनेपाको चर्चित आदर्श कम्प्युटरका सञ्चालक मानन्धर भलाद्मी र सहयोगी मानिन्छन्। क्यान काभ्रेमा पनि उनको लोकप्रियता राम्रो रहेको छ। यस्तै महासचिवका लागि वर्तमान सचिव राजकुमार आचार्य तथा सचिवका लागि वर्तमान कार्यसमिति सदस्य प्रल्हाद सत्याल बन्ने सहमति भइसकेको बुझिएको छ। यस्तै जयराम हुमागाईं उपाध्यक्ष बन्ने सम्भावना रहेको छ। तर यसका लागि उनले चुनाव जित्नुपर्ने देखिएको छ। आउँदो २४ घण्टाभित्र कुनै चलखेल नभए यही अनुसार कार्यसमिति बन्ने सम्भावना रहेको बताइएको छ।

यस्तै चुनावी दौडमा रहेर कार्यसमितिमा आउनेहरुमा व्यक्तिगत तर्फबाट श्याम सेवाचार्य, नरेश मानन्धर र निरञ्जन अधिकारी आउने सम्भावना बढी रहेको बताइएको छ। यस्तै संस्थागत सदस्यमा पनि चुनाव हुने भएकाले उपाध्यक्ष बन्ने सम्भावना रहेका हुमागाईंसहित पलका बलराम श्रेष्ठ र एन्टिकका दीपक वस्नेत आउने सम्भावना बढी देखिएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।